‘जेनजी’ पुस्तासँग राजनीतिक संवाद : कस्ता उम्मेदवार, कस्तो सरकार?
विभिन्न कलेज पोशाकमा हलभरि खचाखच भरिएका थिए उनिहरू। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सबैजसो राजनीतिक दल र उम्मेदवारहरू ‘नयाँ पुस्ता’को नाममा भोट मागिरहेका बेला दाङका यी नवपुस्ताहरू अब देशको मार्गचित्र कस्तो हुनुपर्छ? भन्ने ‘संवाद’मा जुटेका थिए। गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहकै जगमा हुन थालेको यो निर्वाचनमा देशभरि युवा चासो उत्तिकै छ। ‘राजनीति’बाट टाढा छन् भनिएका यी नवपुस्ताले भने अब राजनीतिबारे बहस र संवादहरूमा खुलेरै जम्न थालेका छन्।
बेस संस्था तुलसीपुरको व्यवस्थापन तथा संवाद समूहको सहजीकरणमा ‘नेपालको वर्तमान अवस्था, नव–युवाको माग र आगामी निर्वाचन विषयक संवाद’ कार्यक्रममा सहभागी भएका दाङका कजेल विद्यार्थीहरूले आगामी निर्वाचनमा दल र उम्मेदवारहरूको घोषणापत्र कस्तो हुनुपर्छ भन्नेदेखि देशको भावी प्रधानमन्त्रीसम्मका परिकल्पना पनि गरे। यत्तिमात्रै होइन अहिले देशको राजनीतिदेखि यी नवपुस्ताका विद्यार्थीहरूले देशको शासकीय स्वरुप कस्तो हुनसक्छ भन्नेबारेमा पनि आफ्नो मत राखे अनि त्यसमा बहस र खुल्ला संवाद पनि गरे।
जेनजीको त्यो विद्रोहले नवपुस्तमा ल्याएको चेतनाले अहिले पनि घरदैलोमा पुगेका उम्मेदवारहरू आच्छुआच्छु पारिरहेको छ। प्रश्न सोधिरहेको योँ पुस्ताले कस्तो देश चाहन्छ? कस्तो शासकीय स्वरुप चाहन्छ? राजनीतिक दल अनि उम्मेदवारहरूको घोषणापत्रमा आफ्नो भविष्यको कस्तो चित्र देख्न चाहन्छ? सोमबार तुलसीपुरमा जुटेका यी विद्यार्थीहरूले त्यसबारे फरक फरक तर बिल्कुलै नयाँ सोचका साथ आफ्ना धारणाहरू प्रस्तुत गरेका थिए। अहिले हरेक दल र उम्मेदवारहरूले परम्परागत शैली र उही नारा दोहोर्याउँदै घोषणापत्र ल्याइरहेका छन्। विभिन्न नाममा ल्याइएका यी घोषणापत्रको एउटा साझा रुप भनेको त्यसमा ठोस योजना छैनन्। बरु उही कोरा भाषण र नाराहरूको लयमात्रै मिलाइएका छन्।

‘पुराना भन्ने तर नयाँहरूले पनि उस्तै गर्न थालेका छन्। उसैगरी ढाँट्न थालेका छन्। सबैका घोषणापत्रहरू हेर्नुहोस् त सबै उस्तै देखिन्छन्। पढ्दा कसैको मीठो लाग्ला वा अरुको कस्तो कस्तो लाग्ला तर कसैसँग ठ्याक्कै योजनाहरू छैनन्’ केही उदाहरणहरू दिँदै विद्यार्थी प्रमोद केसीले भने ‘रोजगारी दिन्छौं भनेका छन्। यति लाखलाई रोजगारी दिने रे यो गर्ने रे भनेका छन्। तर त्यो रोजगारी कसरी सिर्जना हुन्छ? भनेर भन्नुपर्दैन? उद्योग खोलेर हुन्छ कि अरु केही गरेर हुन्छ कि, के गर्दा कस्ता मान्छेलाई के रोजगारी प्राप्त हुन्छ? भनेर प्रस्ट भन्नुपर्छ। सुशासन ल्याउँछौं भनेरमात्रै हुँदैन। त्यो कसरी ल्याउन सकिन्छ भन्नेबारेमा स्पष्ट भन्नुपर्छ।’
अहिले पनि दोहार्याएरै पुरानै अनुहारहरू निर्वाचनमा देखिएको भन्दै नयाँ पुस्ताले दलहरूको उम्मेदवार छनोट प्रक्रियामासमेत प्रश्न उठाएका छन्। नेताहरूले आफ्नै मनमौजी उम्देवारलाई चुनाव लड्ने टिकट दिँदा नयाँले अवसर नपाइरहेको अहिलेको राजनीतिक अवस्था हो। नयाँ वा पुराना भन्नेहरूले समेत उम्मेदवार दोहोर्याउन यसपालि पनि छोडेनन्। यसलाई रोक्नका लागि नयाँ पुस्ताले अबका चुनावमा उम्मेदवारहरूको पूर्वपरीक्षाको व्यवस्था गर्न माग गरेका छन्। अहिले राजनीतिक दलहरूभित्र बहस भइरहेको ‘प्रि-इलेक्सन’लाई उनीहरूले आफ्नै विद्यार्थी जीवनको परीक्षाका रुपमा तुलना गरे।
‘जसरी हामी पढ्ने विद्यार्थीलाई परीक्षामा सहभागी गराएर फेल वा पास गराइन्छ, देश चलाउने व्यक्तिको पनि परीक्षा हुनुपर्छ। उम्मेदवार बन्ने क्षमताको परीक्षा भयो भनेमात्रै त्यो उम्मेदवारले केही गर्नसक्छ। नत्र जहिल्यै उही पुरानो अनुहार दोहोरिने हो’ पारस वली, तिलक रावत र ईश्वरी खड्कालगायत संवादमा सहभागी विद्यार्थीहरूको भनाइको तात्पर्य थियो ‘पहिलो परीक्षामै सहभागी नभइ कसरी देश बनाउने परीक्षामा सहभागी हुन पाइन्छ। आम चुनाव भनेको त एउटाले जित्ने वा हार्ने भन्नेमात्रै होइन। देश बनाउने जिम्मेवारी कस्ता मान्छेले लिँदैछन् भन्ने पनि त होला नि। त्यसैले हाम्रोजस्तै चुनाव लड्ने उम्मेदवारहरूको पनि परीक्षा हुनुपर्छ।’
संवादमा उक्त कार्यक्रमका सहभागीहरुले निर्वाचनले जेन्जी पुस्ताको मागलाई सम्बोधन गर्न युवा पुस्ताको सहभागितालाई सबै राजनीतिक दलले समेट्नुपर्ने, विद्यार्थीहरुले अध्ययन गर्दै कमाउँदै गर्नेजस्ता व्यवस्थाहरू अनिवार्य गरेर शिक्षा नीति संशोधन गर्नुपर्नेजस्ता मागहरू पनि राखेका थिए। राजनीतिक अस्थीरताका कारण देश विकासमा समस्या उत्पन्न भइरहेको भन्दै केहीले भने प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने माग पनि राखे। जेनजी आन्दोलनपछि अत्यधिक चर्चामा आएको प्रत्यक्ष कार्यकारी ब्यवस्थाबारे अहिले राजनीतिक दलहरूबीच मुख्य बहसका रुपमा स्थापित पनि भएको छ। यद्यपि विज्ञहरूको यसबारे आआफ्नै तर्क छन्। जेनजी पुस्ता पनि यसबारे विभाजित नै छ। सांसदहरूलाई कानुन तथा नीति निर्माणमा मात्रै सिमित गरेर संसद र सरकार निर्माण अनि सञ्चालनका संयन्त्रहरू फरक फरक हुनुपर्ने कुरालाई पनि यी पुस्ताले बहसका रुपमा लैजान थालेका छन्। कार्यक्रममा सहभागी यी नयाँ पुस्ताका विद्यार्थीहरूले खासगरी देशको शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा राजनीतिक दलहरूले आफ्नो स्पष्ट धारणा र खाकाहरू जनतामाझ सार्वजनिक गर्न माग गरेका थिए। त्यस्तै उनीहरूले भ्रष्टाचार नियन्त्रण, त्यसका लागि बलियो र प्रभावकारी कानुन निर्माण र कार्यान्वयनमा युवाहरूको हस्तक्षेपकारी भूमिका पनि औंल्याएका थिए।


