नयाँ पुस्तामा देखिएको ‘संस्कृती-प्रेम’

२०८२ चैत २४ गते।

दाङको शान्तिनगर गाउँपालिका वडा नं ६ कि अनिमा चौधरी थारुहरूको ‘मागर’ गाउँदा गाउँदै अलिअलि लजाइन्। अनि फेरि आफूलाई सम्हालिन्। त्यसपछि उनले ‘मैना’ गाउन थालिन्। प्रायजसो थारु समुदायका महिलाहरूले गाउने यो ‘मैना’ गीत उनिहरूले आफ्नो विरह वा दु:ख पोख्ने थारु लोक भाका हो।

कक्षा १२ मा पढ्ने अनिमाजस्ता थारु समुदायका धेरै नयाँ पुस्तालाई अहिले आफ्नै संस्कार, संस्कृति अनि परम्परा र इतिहासका बारेमा त्यत्तिधेरै थाहा छैन। तर अब भने थारु समुदायका यी नयाँ पुस्ता अब आफ्नो इतिहास र परम्परा खोतल्न थालेका छन्।

संस्कार अनि संस्कृतिकाबारेमा बुझ्न र सिक्न उत्सुक यी युवायुवतिहरूले दाङको चखौरामा दुई दिनसम्म त्यसबारे अध्ययन अनि छलफल गरेका छन्। समुदायभित्रै लोप हुन थालेको थारु परम्परा, संस्कार र संस्कृतीबारेमा पाका अनि विज्ञहरूसँग मन्थन गरेका यी थारु किशार-किशोरीहरू यो संस्कृती प्रेममा अझ धेरै उत्साहित देखिए। दुई दिनसम्म उनिहरूले त्यहाँ विज्ञहरूका कुरा सुने, अनुसन्धाताहरूका अनुभव सुने। अनि आफ्ना अनुभवहरू सुनाए।

‘हामीलाई हाम्रै इतिहास र परम्पराबारेमा थाहा थिएन। आफ्नो घरमा बाहेक हामी साथीभाईहरूबीचमा पनि थारु भाषामा कुरा गर्दैनौं’ अनिमालाई त्यो दुई दिने बसाईंपछि लाग्यो ‘आफ्नो मातृभाषाको महत्व, हामीले अपनाएका संस्कार र संस्कृतिहरूको महत्व के हो भन्नेबारेमा अब हामीले थाहा पायौं।’

उनिजस्तै मतता अनि प्रमिला चौधरीहरूको अनुभव पनि त्यस्तै छ। आफ्नो भाषा, संस्कार अनि संस्कृति कति समृद्ध रहेछ भन्ने कुरा उनिजस्ता धेरै युवाहरूलाई थाहा छैन। उनिहरूकै अनुसार आजभोलि कतिपय थारु युवायुवतीहरूलाई त थारुहरूको बारेमा कत्ति पनि थाहा छैन। सामान्यतया आफ्नै भाषा अनि भेषभुषासमेत उनिहरूलाई पत्तो छैन।

थारु समुदायको आफ्नै रैथाने परम्परा, इतिहास, संस्कार अनि संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले यी युवायुवतिहरूका लागि ‘थारुहरूको भाषा, संस्कार, परम्परा र पौराणिकता’ विषयमा अभिमुखिकरण गरिएको थियो। त्यसको आयोजना पर्यटन डिभिजन कार्यालय, कोहलपुरले गरेको थियो भने थारु सांस्कृतिक संरक्षण केन्द्र चखौरा सहआयोजक रह्यो। थारु सांस्कृतिक संरक्षण केन्द्रकी उपाध्यक्ष शान्ता चौधरीका अनुसार अभिमुखिकरणमा थारु संस्कार, इतिहास, परम्परा, वेशभूषा, कला तथा सांस्कृतिक मूल्यमान्यताका विषयमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो।

आधुनिकतासँगै परम्परागत ज्ञान र अभ्यास ओझेलमा पर्दै गइरहेका बेला थारु समुदायको मौलिक लोककला, संस्कार र संस्कृतिसँग युवाहरुलाई जोड्ने उद्देश्यले अभिमुखिकरण आयोजना गरिएको पर्यटन डिभिजन कार्यालय, कोहलपुरका निमित्त कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डेयले बताए। उनले यस अभिमुखिकरणले थारु समुदायको मौलिक पहिचानको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए। अभिमुखिकरणमा जिल्लाभरबाट छनोट गरिएका ४० जना थारु युवायुवतीहरूको सहभागिता रहेको थियो ।

अभिमुखिकरणमा लोकसंस्कृतिका ज्ञाता डा. गोविन्द आचार्य, थारु संस्कृतिविद् अशोक थारु, थारु भाषाका लेखक तथा पत्रकार सन्तोष दहित, गजेन्द्र बोहरा, गोपाल शर्मा भट्टराईले थारु भाषा, कला, संस्कृति, इतिहास, वेशभूषा तथा गहनासम्बन्धी विषयमा लेखन तथा अनुसन्धानबारे सहजीकरण गरेका थिए।