रैथाने परिकार प्रवर्द्धनमा थारु समुदाय
चखौरा । भातको मार पकाएर केही दिन राखेपछि त्यो मार अमिलो बन्छ । त्यही अमिलो मार नुन, पानी हालेर उमाल्ने अनि त्यसलाई खुर्सानी, लसुन, प्याज, अदुवा, धनियाँ, टिमुरजस्ता मसला आवश्यकताअनुसारको तेलमा फु¥याएर उमालेको अमिलो मारमा राखेपछि बन्छ थारुहरुको रैथाने खाना ‘कञ्जुवा ।’ जसलाई खाएर थारुका पुर्खाहरुले औलो रोगलाई परास्त गर्थे । रोग नै निको पार्ने त्यही खाना कन्जुवा अहिले थारु समुदायमा पाक्दैन । औषधीय गुण भएको यो खाना समुदायबाटै हराउन थालेपछि अहिले दाङका थारु समुदाय ‘कन्जुवा’सँ‘गै आफ्ना रैथाने खाना संरक्षणमा लागेका छन् ।

थारु समुदाय श्रमसँग जोडिएको समुदाय हो । दाङलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्न थारु समुदायले भूमिका खेले र कृषिलाई मुख्य पेशाका रुपमा अँगालेर दशकौंदेखि उत्पादनमा जोडिए । समयक्रमसँगै आफ्नै उत्पादनबाट बनाइने रैथाने खाना र परिकारलाई अब थारु समुदायले संरक्षणमात्रै होइन यसको व्यवसायीकरण गर्ने तयारीमा जुटेका छन् । मुख्य गरी दाङबाट बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्म पुगेका थारु समुदाय र पुर्खासँग रहेका यस्ता रैथाने खाना सबै थारु समुदायमा पु¥याउन सरकारी तथा गैरसरकारी प्रयासबाट दाङका ४० जना थारु महिलाहरुलाई थारु रैथाने परिकार बनाउन सिकाइएको छ । दंगीशरणको चखौरामा राखेर उनीहरुलाई कन्जुवा, दगौरा खाना, अनदी, सिम्ठारो, मकै र मसुराको भात, थारु समुदायको विवाह पार्टीका परिकार, घोङ्गी, गंगटा, लोकल कुखुराको मासु, गुइता माछा, माछा, सिद्रा माछा, बंगुरको मासु, बयरको अचार, जारको झोल, ढिक्री, पतौरीलगायत ४० बढी रैथाने परिकार बनाउन सिकाइएको छ ।

थारु परम्परागत खाना बनाउने सीप सिकाउन कैलालीबाट कल्पना चौधरी, अनु राना र शान्ति कठरिया, बर्दियाबाट हासिरानी थारु र दाङबाट सुन्तली चौधरीले ४० जना थारु महिलाहरुलाई समुदायगत रैथाने खाना बनाउन सिकाउनु भएको हो । चखौरामा भएको तीन दिने अभ्यासपछि प्रशिक्षार्थी महिलाहरुले बुधबार लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, प्रहरी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, पत्रकार तथा सर्वसाधारणहरुलाई खुवाएर उत्पादनको गुणस्तर परीक्षण गरे । ‘केही कुरा त पहिले पनि थाहा थियो तर तालिम लिएर उही वस्तुलाई फरक–फरक स्वादमा पनि बनाउन सकिने रहेछ, दंगीशरण गाउँपालिका–३ की ५६ वर्षीया सुन्तली चौधरीले भन्नुभयो– ‘हामीहरु त घरमै बनाएर छोरा नाति पुस्तालाई सिकाउँछांै, अरु दिदी बहिनीहरुले होटेल नै खोलेर व्यापार गर्ने योजना पनि बनाउनुभएको छ ।’ दाङमा केही स्थानमा थारु परिकार पाइने होटेल स्थापना गरिएका पनि छन् तर यसलाई थप विस्तार गरेर आर्थिक उपार्जन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने योजना पनि छ ।

‘थारु समुदायका परम्परागत खानाको संरक्षणमात्रै होइन, फरक–फरक स्वादका खानाको स्वाद लिन अरु समुदायलाई पनि फाइदा नै हुन्छ’– लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले भन्नुभयो– ‘यस्ता रैथाने खानाको व्यावसायीकरण गर्दा परिकारको संरक्षण र आर्थिक आर्जन पनि सँगसँगै हुन्छ । रैथाने परिकारको व्यावसायीकरण जरुरी छ ।’ थारु समुदायका परम्परागत खानाको संरक्षण र त्यसको व्यावसायीकरण गर्न नेपाल पर्यटन डिभिजन कार्यालय कोहलपुर र थारु सँंस्कृतिक संरक्षण केन्द्र दाङले थारु महिलाहरुलाई सीप प्रदान गरेको हो । ‘रैथाने खाना स्वास्थ्यका लागि पनि लाभदायक छन्, यी खानालाई अब अरु समुदायसम्म पु¥याएर व्यावसायिक रुपमा विकास गर्ने काममा थारु समुदाय लाग्नुपर्छ । यसबाट राम्रै आर्थिक स्तरवद्धि गर्ने ठूलो सम्भावना छ’– पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भन्नुभयो ।
नयाँ युगबाेध राष्ट्रिय दैनिकमा प्रकाशित-२०८२/१२/१९ गते


