निर्वाचन कस्तो भयो, कस्तो हुनुपर्छ? एक समीक्षात्मक संवाद

२०८२ चैत १५ गते, घाेराही।

आइतबार घोराहीमा प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षात्मक संवाद गरिएको छ। संवाद समूह लुम्विनी प्रदेशको आयोजना तथा बेस संस्थाको व्यवस्थापनमा भएको संवादमा भाग लिएका बक्ताहरुले निर्वाचनमा मत बदर हुनुलाई चिन्ताजनक भन्दै मतदाता शिक्षा प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए।

यसै गरेर मतदान स्थल टाढा हुँदा र चुनावका दिन सवारी साधनहरु बन्द गरिदा मतदातालाई मतदान स्थल पुग्नका लागि भएको समस्यालाई पनि अबका निर्वाचनमा सम्बोधन गर्नुपर्नेमा सहभागिहरुको मतैक्यता थियो। कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटाले मतदाता शिक्षामा कमी हुँदा बदर मतको संख्या घट्न नसकेको बताइन्। उनले मौन अवधी ‘मनी अवधी’को रुपमा विकास भएको भन्दै चिन्ता व्यक्त गर्दै यसलाई सुधार गर्नु पर्ने बताइन्। निर्वाचन भन्दा अघि मत सर्वेक्षण गरेर सार्वजनिक गर्ने कार्यले मतदातामा प्रभाव पर्ने भएकाले यस प्रकारको कार्य रोकिनु पर्ने उनले बताइन्। नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जालमा देखिएको प्रदुषण घटाउनुपर्ने बताए। यसको लागि राज्यले भुमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ।

निर्वाचनका क्रममा हुने संवादहरुमा सांसदको भुमिका के हो भनेर स्पष्ट बुझेर अगाडि बढन सक्नु पर्ने भन्दै पोख्रेलले सांसदको सिमाभन्दा बाहिर गएर आश्वासन दिदा नागरिकमा निराशा छाउने तर्फ सचेत हुनुपर्ने बताए। मतदान स्थलसम्म सहज रुपमा पुग्ने बातावरण निर्माण गर्न राज्यको निकायबाट पहल हुनु पर्ने उनको भनाइ छ।

‘सबै बन्द गरेर मात्र निर्वाचन गराउने सोच परिवर्तन हुनु पर्दछ, सहज रुपमा सबै मतदान स्थलसम्म पुग्ने परिस्थिति बनाउनु पर्दछ’ उनले भने। नागरिक समाजका सचिव नारायणप्रसाद श्रेष्ठले विगतको तुलनामा निर्वाचनमा सुधार हुदै गएको बताए। उनले मौन अवधीको दुरुप्रयोग हुने गरेका चर्चा गर्दै सो अबधिलाई घटाएर २४ घण्टा बनाउनु पर्ने बताए। नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासनले प्रविधिको प्रयोग गरेर निर्वाचन छिटो छरितो बनाउनु पर्ने बताए। यस तर्फ राज्यले ध्यान दिनु पर्ने उनको भनाइ छ।

महिला अधिकारकर्मी लक्ष्मी आचार्यले यस पटकको निर्वाचनमा ठूला आमसभा कम भएको बताइन्। निर्वाचन मार्फत संसदमा युवाहरुको सङख्या बृद्धि भएको उनको भनाइ थियो। अधिकारकर्मी सुशीला पौडेलले निर्वाचनका क्रममा जनताका मुद्दाहरुमा धेरै भन्दा धेरै छलफल हुनुपर्ने भन्दै महिलामैत्री मतदान स्थलको व्यबस्था गर्न अझै धेरैकाम गर्नुपर्ने बताइन। जिल्ला अपाङ सञ्जालका चिन्तामणि पौडेलले मतदान स्थलहरु अपाङमैत्री हुन नककेको बताए। यसलाई सुधार गर्नुपर्ने उनको भनाइ छ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेशका कोषाध्यक्ष नारायणप्रसाद भुसालले यस पटकको निर्वाचनमा उद्योगी व्यवसायीमा चन्दा आतक नदेखिएको बताए। निर्वाचनको समयमा लामो समयसम्म सरकारी कार्यालयहरु पेट्रोलियम पदार्थको समस्या भएको उनको भनाइ छ। नागरिक समाजका पुर्व संयोजक राजनितिक दलहरुले आफना कुरा राख्ने भन्दा पनि अरुलाई गाली गर्ने प्रबृत्ति बढेको बताए। यस्तो प्रबृत्तिमा सुधार गर्नुपर्ने उनको भनाइ छ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख लालसिंह खड्काले स्थानीय तहबाट सहयोग नहुदा काम गर्दा समस्या भएको बताए। जिल्लामा केही मतदान स्थान थप गरिए पनि नागरिकको अपेक्षा अनुसार हुन नसकेको बताए। मानिसको कसैलाई मत नहाल्ने मनस्थितिको कारणले पनि मत बदर हुने गरेको प्रमुख खड्काले बताए। मतदाता शिक्षाका लागि जिल्लामा कार्यक्रम सञ्चालन गरिएको भएपनि प्रभावकारी हुन नसकेको गुनासो आएपछि यसलाइ सच्चाएर आगामी दिनमा अगाडि बढने बताए। सबैको सहयोगको कारण निर्वाचन शान्तिपूर्ण बातावरणमा सम्पन्न गर्न सकिएको उनको भनाइ छ। नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले निर्वाचनको क्रममा सहज रुपमा सञ्चार माध्यमले रिपोर्टीङ गर्न नपाएको बताए। मतदान स्थलमा मतदान अधिकृतको स्वविवेकको अधिकारका कारणले पनि समस्या भएको उनको भनाइ छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पाटीका जिल्ला संयोजक विनय घिमिरे, नेकपा एमालेका लुम्विनी प्रदेशका सचिव लक्ष्मण आचार्य, नेकपा लुम्विनी प्रदेश समिती सदस्य डिल्ली अधिकारी, राप्रपा लुम्विनी प्रदेश सदस्य सृजना रावत पाण्डे, श्रम संस्कृति पाटीका टोपबहादुर महतराले राजनीतिकदलहरु निर्वाचनको सुधारको लागि आआफनो पार्टीबाट पहल गर्नुपर्ने बताएका थिए। उनीहरुले एकले आर्कालाई गाली भन्दा पनि आफनो एजेण्डा नागरिक सामु राखेर अगाडि बढनु पर्ने बताएका थिए।

कार्यक्रममा नागरिक समाजका संयोजक निमबहादुर थापा, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, पत्रकार शरद अधिकारी, बरिष्ठ अधिबक्ता दीपक रेग्मी, कुसुण्डा समाजका अध्यक्ष धनबहादुर कुसुण्डा, मानव स्वास्थ्य समाजका भुमि परियाले प्रविधिको प्रयोग गरेर निर्वाचनलाई सहज बनाउन लाग्नु पर्ने बताए। नाबालवालिकाहरुको चुनाव प्रचार प्रसारमा प्रयोग गर्न नहुनेमा उनीहरुको जोड थियो। कार्यक्रमको सहजिकरण संवाद समुह लुम्विनीका बरिष्ठ सहजकर्ता सुशील वस्नेतले गरेका थिए।